राष्ट्रिय बाल दिवस २०८३ मनाउने सम्बन्धमा ।

विज्ञप्ति

 

राष्ट्रिय बाल दिवस २०८३ मनाउने सम्बन्धमा ।

 

बालबालिकाको अधिकारको सम्मान, संरक्षण, सम्वर्द्धन, प्रवर्द्धन तथा परिपूर्ति र सुनिश्चितताका लागि प्राकृतिक बाबुआमा, परिवारका सदस्य, संरक्षक तथा राज्यको साझा दायित्व हो। यीनै जिम्मेवारी र दायित्व पूरा गरी बालमैत्री वातावरणमा बाल अधिकार प्रवर्द्धन गर्न गराउन नागरिक समाज तथा सबै सरोकारवालालाई थप जिम्मेवार र जवाफदेही बनाउने उद्देश्यले प्रत्येक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाइँदै आइएकोछ ।

मिति २०८३ साल भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाहरुमा अपूरणीय धनजनको क्षतिका कारण बाबुआमा, संरक्षक तथा अभिभावक गुमाएका, वेपत्ता भएका वा बालबालिका स्वयम् नै घाइते वा वेपत्ता भएका बालबालिकाको उद्धार, राहत, संरक्षण, अस्थायी संरक्षण र मनोसमाजिक परामर्श लगायतका सेवा उपलब्ध गराउन समग्र राज्य तल्लीन रहेकोछ।

राष्ट्रिय बाल दिवस २०८३ भदौ २९ मनाउन यस पटक "बालापनको रक्षाः भविष्यको सुरक्षा” भन्ने नारा निर्धारण गरी मनाउने तयारी भएकोमा उल्लिखित विनाशकारी बाढीका कारण राष्ट्र नै पीडा र शोकमा डुबेको छ।

अतः उल्लिखित विद्यमान अवस्थालाई ख्याल गरी बाढीबाट प्रभावित बालबालिकाको संरक्षण तथा सुरक्षा गर्न गराउन प्रभावित बालबालिका हराउने, परिवारबाट छुट्टिने, हिंसा तथा शोषणमा पर्ने, बेचबिखन तथा ओसारपसारको जोखिममा पर्ने तथा आधारभूत सेवा र संरक्षणबाट बञ्चित हुन सक्ने भएकोले बालमैत्री उद्धार, राहत, संरक्षण, अस्थायी संरक्षण, परिवारको खोजतलास र पुनर्मिलनलाई प्राथमिकतामा राखी सर्वोत्तम हितको सिद्धान्त बमोजिम सम्बन्धित सरोकारवाला निकाय, विद्यालय, संघ संस्था र नागरिक समाजले "बालापनको रक्षाः भविष्यको सुरक्षा" नाराका साथ बालबालिका केन्द्रित कार्यक्रम गरी राष्ट्रिय बाल दिवस मनाउन सकिने व्यहोरा अनुरोध छ।

२६ भदौ २०८३ नेपाल सम्वत् ११४६