रसुवा-भोटेकोशी बाढी प्रभावित बालबालिकाको दीर्घकालीन संरक्षण, हेरचाह तथा स्याहार योजनामा आधारित सहयोग कार्यको प्रारम्भ !!

प्रेस विज्ञप्ति

रसुवा-भोटेकोशी बाढी प्रभावित बालबालिकाको दीर्घकालीन संरक्षण, हेरचाह तथा स्याहार योजनामा आधारित सहयोग कार्यको प्रारम्भ !!

 

वि.सं. २०८३ साल भदौ १० गतेको विनाशकारी रसुवा-भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको दीर्घकालीन संरक्षण व्यवस्थापन तथा परिवार सहयोगका लागि नेपाल सरकारले ‘विपद् प्रभावित बालबालिकाको दीर्घकालीन संरक्षण, हेरचाह तथा स्याहार योजना, २०८३’ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ। रसुवा जिल्लाको आमाछोदिङ्‌मो गाउँपालिका वडा नं. -५, गोल्जुङबेसीबाट ‘विपद् प्रभावित बालबालिकाको दीर्घकालीन संरक्षण, हेरचाह तथा स्याहार योजना, २०८३’ अन्तर्गत त्यस्ता बालबालिकालार्इ मासिक सहयोग रकम बैंक खातामा जम्मा गरी कार्यको औपचारिक रूपमा प्रारम्भ गरिएको छ। राष्ट्रिय बाल अधिकार परिषद्का अध्यक्ष एवम् नेपाल सरकार, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयका माननीय मन्त्री श्री सिता वादीले मङ्सिर १० गते स्थलगत रूपमा उपस्थित भई भोटेकोशी बाढीमा श्रीमान् गुमाएको बेला गर्भवती अवस्थामा रही, गत दुई साताअघि नवजात शिशुलाई जन्मदिई, हाल सुत्केरी अवस्थामा रहेकी आमाको पहिलो महिनाको आर्थिक सहायता रकम बैंक खातामा जम्मा गरी कार्यक्रमको शुभारम्भ गर्नु भएकोछ। कार्यक्रमको थालनीसँगै ती नवजात शिशुले १८ वर्ष उमेर पूरा नहुँदासम्म आफ्नै परिवारमा सुरक्षित रूपमा हुर्कने तथा स्याहार योजना बमोजिम मासिक आर्थिक सहायता प्राप्त गर्ने सुनिश्चितता भएको छ।

 

नेपालको संविधान, बालबालिका सम्बन्धी ऐन, २०७५, बालबालिका सम्बन्धी नियमावली, २०७८ तथा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ लगायत प्रचलित कानूनी व्यवस्थाले विपद् तथा जोखिममा परेका वा विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको अधिकार संरक्षण तथा सम्वर्द्धन जैविक बाबुआमा वा घर परिवारबाट हुन सकेन भने त्यस्ता बालबालिकाको उद्धार, राहत, पुनर्स्थापना, संरक्षण तथा सामाजिक सुरक्षा सम्बन्धी दायित्व राज्यले पूरा गर्नु पर्ने व्यवस्था रहेकोछ। विपद् तथा भोटेकोशी बाढीका कारण बाबुआमा दुबै वा दुर्इमध्ये एक तथा अभिभावक वा परिवारका सदस्य गुमाएका, बेपत्ता भएका, परिवारबाट बिछोडिएका, शारीरिक तथा मानसिक रूपमा प्रभावित भएका, अपाङ्गता भएका वा अन्य कारणले विशेष संरक्षण तथा वैकल्पिक हेरचाहको आवश्यकता भएका बालबालिकाको तत्काल उद्धार गरी दीर्घकालीन संरक्षण, हेरचाह, पालनपोषण, विकास र पुनर्स्थापनाको सुनिश्चितता गर्नु राज्यको दायित्व हो।उल्लिखित स्याहार योजनामार्फत विपद् प्रभावित बालबालिकाको व्यक्तिगत अवस्था, आवश्यकता तथा सर्वोत्तम हितलाई केन्द्रमा राखी पारिवारिक तथा वैकल्पिक हेरचाह, शिक्षा, स्वास्थ्य, पोषण, मनोसामाजिक सहयोग, सामाजिक सुरक्षा, आर्थिक सहायता तथा पारिवारिक पुनर्एकीकरण तथा पुनर्स्थापना सम्बन्धी सेवाहरू एकीकृत रूपमा उपलब्ध गराउने व्यवस्था गरिएको छ।

बालबालिकालाई संस्थागत हेरचाहमा राख्नुभन्दा परिवार तथा समुदायमा सुरक्षित रूपमा हुर्कने वातावरण सुनिश्चित गर्नु स्याहार योजनाको प्रमुख उद्देश्य र प्राथमिकता रहेको छ।विपद् प्रभावित बालबालिकाको शिक्षा, स्वास्थ्य, पालनपोषण तथा दीर्घकालीन स्याहार सुनिश्चित गर्न बाल कोष तथा विभिन्न साझेदार संस्थाहरूसँगको सहकार्य र साझेदारीमा योजना अन्तर्गतको स्याहार प्याकेज कार्यान्वयन गरिनेछ। यसबाट प्रभावित बालबालिकाको व्यक्तिगत आवश्यकता र अवस्थाका आधारमा आवश्यक आर्थिक तथा अन्य सहयोग उपलब्ध गराई उनीहरूको दीर्घकालीन संरक्षण र विकासमा योगदान पुग्ने अपेक्षा गरिएको छ। दीर्घकालीन स्याहारका लागि हालसम्म विभिन्न साझेदार संस्थाहरु MITGF र SOS Children's Villages’ Nepal लगायतका संस्थाहरुबाट करीब १२०० जना बालबालिकाको स्याहार प्याकेज सुनिश्चित भएको छ।

 

बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ४८ र ४९ तथा बालबालिका सम्बन्धी नियमावली, २०७८ को नियम ४२ र ४३ बमोजिम संस्थागत हेरचाह (बाल गृह)लाई अन्तिम विकल्पका रूपमा मात्र प्रयोग गर्ने नीति अनुरूप विपद्पछि अनधिकृत रूपमा बाल गृहमा पुर्‍याइएका बालबालिकालाई परिवारमा पुनर्मिलन गराउने कार्य अघि बढाइएको छ। प्रभावित बालबालिकाको वास्तविक अवस्था, पारिवारिक पृष्ठभूमि, संरक्षणको आवश्यकता तथा जोखिम पहिचान गरी व्यक्तिगत स्याहार योजना निर्माणका लागि परिषद्का सदस्य-सचिव श्री शान्त कुमारी भण्डारीको नेतृत्वमा रसुवा, नुवाकोट तथा काठमाडौँ उपत्यकामा पाँचवटा टोली परिचालन गरिएको छ। उक्त टोलीले घरदैलोमै पुगेर बालबालिका तथा परिवारको अवस्था मूल्याङ्कन गरी आवश्यक संरक्षण, सहायता तथा पुनर्स्थापनाका कार्यका लागि सहयोग निर्धारण फाराम र परिवार सम्झौता गर्ने कार्य भइरहेको छ।

 

यसका साथै नेपाल सरकारले ललितपुरको गोदावरी नगरपालिकासँगको सहकार्यमा गोदावरीको ठेचोमा सञ्चालित अस्थायी संरक्षण केन्द्रबाट ४९ जना बालबालिकाले आवास, स्वास्थ्य र मनोसामाजिक सेवा प्राप्त गरी आवश्यक प्रक्रिया पुर्याइ पारिवारिक पुनर्मिलन गरिएको छ भने परिवारमा पठाउन नसकिएका ९ जना बालबालिकालाई स्थानीय तहको सिफारिसमा अनुमति प्राप्त तथा सूचीकृत सेवा प्रदायक संस्थामा व्यवस्थापन गरिएको छ।विपद् प्रभावित बालबालिकालाई परिवारबाट अनावश्यक रूपमा अलग नगरी आफ्नै परिवार तथा समुदायमा सुरक्षित रूपमा हुर्कने वातावरण सुनिश्चित गर्नु राज्यको प्राथमिकता र प्रतिबद्धता हो। यस सन्दर्भमा बालबालिकाको संरक्षणका नाममा अनधिकृत रूपमा ओसारपसार गर्ने, स्थानान्तरण गर्ने वा गैरकानूनी रूपमा बाल गृहमा राख्ने कार्य नगर्न नगराउन राष्ट्रिय बाल अधिकार परिषद् सम्बन्धित सबैमा हार्दिक अपील गर्दछ।

१० मंसिर २०८३                                       रामबहादुर चन्द

नेपाल सम्वत् ११४७                                    सूचना अधिकारी