राष्ट्रिय आर्थिक गणना २०८२
वि.सं:
नेपाल संवत: ११४६ चौलागा नवमी - २४
विज्ञप्ति
विषय:- चुनावमा बालबालिकाको प्रयोग गर्न गराउन नहुने !!
बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ६६ को उपदफा (२) को खण्ड (छ) मा बालबालिकालार्इ ×राजनीतिक प्रयोजनका लागि संगठित गर्ने वा, हड्ताल, बन्द, चक्काजाम धर्ना वा जुलुसमा प्रयोग गर्ने‘‘ कार्यलार्इ बालबालिका विरुद्धको हिंसा तथा कसूर मानी त्यस्तो कार्य गर्नेलार्इ ऐनकै दफा ७२ को उपदफा (३) को खण्ड (ख) बमोजिम पचहत्तर हजार रुपैयाँसम्म जरिबाना र तीन वर्षसम्म कैद हुने व्यवस्था रहेको छ । निर्वाचन आचार संहिता, २०८२ को दफा ४ को खण्ड (छ) मा ×बालबालिकालार्इ निर्वाचन प्रचार प्रसारमा प्रयोग गर्न वा गराउन नहुने‘‘ आचरण सबैले पालना गर्नु पर्ने व्यवस्था रहेको छ भने निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम निर्वाचन आचार संहिता उल्लंघन गर्ने उम्मेदवारलार्इ आयोगले एकलाख रुपैयाँसम्म जरिबाना वा उम्मेदवारी रद्द गर्न सक्ने र निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ बमोजिम कारबाही गरिने व्यवस्था रहेको छ ।
संवत् 20८२ साल फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारको मनोनयन गर्ने कार्य सम्पन्न भएको छ भने विभिन्न राजनीतिक दल तथा उम्मेदवारहरुले नागरिक सामु आ-आफ्ना विचार राख्दै राजनीतिक प्रचार प्रचार गर्ने क्रम शुरु भएको छ । विद्यमान बालबालिका र निर्वाचन सम्बन्धी कानूनी व्यवस्था र निर्वाचन आचार संहिता, २०८२ मा भएको व्यवस्था बमोजिम १८ वर्ष उमेर पूरा नगरेका बालबालिकालार्इ कुनै पनि राजनीतिक दल वा उम्मेदवारले चुनाव सम्बन्धी प्रचार प्रसार, स्वागत तथा सम्मान, आमसभा, कोणसभा जुलुस, अभियान तथा बैठकमा सहभागी गराउन र त्यस्ता दल, संगठन वा समूहमा संगठित हुन निषेध गरेको छ ।
अत: बालबालिकाको अधिकार तथा हक हितको संरक्षण, सम्वर्द्धन, सम्मान र परिपूर्ति सुनिश्चित गर्न गराउन आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनको अवधिभर: निर्वाचन हुने दिन अगाडि, निर्वाचनको दिन र निर्वाचन भए पछाडिको निर्वाचन सम्बन्धी कार्यक्रम, प्रचार प्रसार, जुलुस तथा विजयोत्सव लगायतका कार्यहरुमा सबै राजनीतिक दल, दलका भातृ संगठन र उम्मेदवारहरुले बालबालिकाको प्रयोग गर्न गराउन नहुने वातावरण सुनिश्चित गर्न राष्ट्रिय बाल अधिकार परिषद् हार्दिक अनुरोध गर्दछ ।
मिति: २०८२/१०/०८ गते। रामबहादुर चन्द
सूचना अधिकारी