विज्ञप्ति
नेपाल बाल संगठनको केन्द्रीय कार्यालयमा रहेको नक्शाल बाल गृहबाट २० जना बालबालिकाको
आकस्मिक उद्धार तथा पुन:स्थापना गरिएको सम्बन्धमा।
मिति २०८३ साल साउन २ गतेका दिन बाल मन्दिर नक्शालमा रहेका बालबालिका जोखिममा रहेका छन् भन्ने
सूचना तथा जानकारीका आधारमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक
सुरक्षा मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषद्, बालबालिका खोजतलास समन्वय केन्द्र १०४ र बाल हेल्पलाइन
१०९८ ले काठमाडौं महानगरपालिका १ नं. वडा समिति सदस्य एवम् महानगर बाल उद्धार कार्यदल संयोजक,
काठमाडौं महानगर बाल अधिकार समिति सदस्य र प्रहरी वृत्त मालिगाउँ प्रतिनिधि समेतको संयुक्त रोहबरमा
नेपाल बाल संगठनको केन्द्रीय कार्यालय काठमाडौंको नक्शाल स्थित बाल गृहको तत्काल अनुगमन गरियो।
अनुगमनको क्रममा संगठनका पदाधिकारी तथा कर्मचारीहरुसँग बालबालिकाको अवस्था सम्बन्धी छलफल गरी
बाल मन्दिरको बाल गृह भवनमा आश्रित १०८ जना बालबालिकामध्ये बाल मन्दिर परिसरमा ढल पसी
बालबालिका रहेको भवनमा पानी जमेका कारण स्वास्थ्य तथा संरक्षणका दृष्टिले उच्च जोखिम देखिएका १५
दिनदेखि २ वर्षसम्म उमेरका बालक १२ र बालिका ८ गरी जम्मा २० (बीस) जना बालबालिकाको आकस्मिक
तत्काल उद्धार तथा पुन:स्थापना गरी अस्थायी संरक्षणको प्रबन्ध गरिएको छ।
बालबालिका सम्बन्धी नियमावली, २०७८ को नियम ६४ तथा अनुसूची -४ बमोजिमका न्यूनतम मापदण्डहरु र
बाल गृह सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७९ बमोजिम बाल गृह सञ्चालन तथा व्यवस्थापन
गर्नु पर्ने व्यवस्था रहेको हुँदा बाल गृह सञ्चालन सम्बन्धी प्रचलित मापदण्डहरुको पालना नगरी कसैले बाल गृह
सञ्चालन गरेको जानकारी पाएमा प्रचलित कानून बमोजिमको कारबाहीका लागि मन्त्रालय वा यस परिषद्मा
लिखित जानकारी गराउन हुन अनुरोध छ। साथै प्रदेश बाल अधिकार समिति, स्थानीय बाल अधिकार समिति र
बाल कल्याण अधिकारीले आ-आफ्नो क्षेत्रभित्र रहेका बाल गृहको नियमित अनुगमन, निरीक्षण र पृष्ठपोषण गरी
बाल गृह सञ्चालन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुनसमेत परिषद् हार्दिक अपील गर्दछ।