आकस्मिक बाढी तथा प्राकृतिक विपद्मा परेका बालबालिकाको उद्धार, सुरक्षा र संरक्षण सम्बन्धमा
विज्ञप्ति
आकस्मिक बाढी तथा प्राकृतिक विपद्मा परेका बालबालिकाको उद्धार, सुरक्षा र संरक्षण सम्बन्धमा।
आज मिति २०८३ साल भदौ १० गते बुधबार रसुवा जिल्लाको भोटेकोशी करिडोर, टिमुरे, स्याफ्रुबेंसी एवम् नुवाकोट जिल्लाको त्रिसुली करिडोरको विदुर लगायतका क्षेत्रमा आएको आकस्मिक विनाशकारी बाढीबाट भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै यस विपद्बाट ज्यान गुमाउनुहुने सम्पूर्ण मृतकहरूप्रति राष्ट्रिय बाल अधिकार परिषद् भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ।
साथै बेपत्ता व्यक्तिहरूको तत्काल खोजी तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विपद्का समयमा बालबालिकाहरु परिवारबाट बिछोडिने, हराउने, चोटपटक तथा मानसिक तनावमा पर्ने, शोषणको जोखिममा रहने र आधारभूत आवश्यकताबाट वञ्चित हुने उच्च सम्भावना रहने भएकाले उनीहरूको जीवनरक्षा, सुरक्षा, संरक्षण र सर्वोत्तम हितलाई ध्यानमा राखी देहायका विषयमा विशेष प्राथमिकता दिन तीनै तहका सरकार, सुरक्षा निकाय, नागरिक समाज, सामाजिक संस्था तथा स्थानीय समुदायमा परिषद् हार्दिक अनुरोध गर्दछ:-
- बालमैत्री उद्धार तथा राहत: खोज, उद्धार, उपचार र राहत वितरणमा बालबालिका, विशेषगरी शिशु, गर्भवती तथा सुत्केरी महिला, अपाङ्गता भएका बालबालिका र अन्य विशेष संरक्षणको आवश्यकता भएका व्यक्तिहरूलाई पहिलो प्राथमिकता दिनुहुन।
- तत्काल पहिचान तथा पारिवारिक पुनर्मिलन: अभिभावकबाट बिछोडिएका, हराएका, घाइते वा अभिभावक गुमाएका बालबालिकाको पहिचान तथा लगत संकलन गरी सुरक्षित आश्रय, पारिवारिक पुनर्मिलन र अवैध ओसारपसार रोकथामको व्यवस्था मिलाउनुहुन।
- आवश्यक सामग्री तथा सुरक्षित आश्रय: प्रभावित बालबालिकालाई तत्काल आवश्यक पर्ने पोषिलो खाद्यान्न, लत्ताकपडा, स्वच्छ खानेपानी, सरसफाइ सामग्री तथा शिशु स्याहारका सामग्री उपलब्ध गराई अस्थायी आश्रयस्थलमा सुरक्षित र बालमैत्री वातावरण सुनिश्चित गर्नुहुन।
- मनोसामाजिक तथा स्वास्थ्य सेवा: विस्थापित तथा त्रसित बालबालिकाका लागि आवश्यक मनोसामाजिक परामर्श, प्राथमिक स्वास्थ्य सेवा तथा अन्य संरक्षणका उपायहरू तत्काल उपलब्ध गराउनुहुन।
- हटलाइनको उपयोग: हराएका, फेला परेका वा संरक्षण आवश्यक भएका बालबालिकाका सम्बन्धमा नजिकको प्रहरी कार्यालय वा बालबालिका खोजतलास समन्वय केन्द्र १०४ वा बाल हेल्पलाइन १०९८ मा तत्काल सूचना दिनुहुन।
- उच्च सतर्कता: भोटेकोशी तथा त्रिशूली नदीका तटीय क्षेत्र (रसुवा, नुवाकोट, धादिङ, चितवन लगायत) मा नदीको बहाव उच्च रहन सक्ने भएकाले अभिभावकहरूले आफ्ना बालबालिकालाई नदी किनारमा जान वा पौडी खेल्न नदिनुहुन।
सम्माननीय प्रधानमन्त्रीज्यूको निर्देशनमा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलद्वारा भइरहेको उद्धार कार्य एवम् यस परिषद्का अध्यक्ष माननीय मन्त्रीज्यूको पहलमा भैरहेको बालबालिकाको उद्धार खोज एवम् संरक्षण कार्यलाई विशेष प्राथमिकता दिइ विपद्मा परेका बालबालिकाको सर्वोत्तम हित र अधिकारको सुनिश्चितता एवम् संरक्षण गर्न आवश्यक समन्वय र सहयोगका लागि जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय विपद् व्यवस्थापन समिति, स्थानीय बाल अधिकार समिति, सामाजिक संघसंस्था, मानवअधिकारकर्मी, सञ्चारकर्मी तथा आम नागरिकमा राष्ट्रिय बाल अधिकार परिषद् हार्दिक अपिल गर्दछ।
मितिः २०८३/०५/१० ( दुर्गा प्रसाद चालिसे)
नेपाल संवत् ११४६ सदस्य- सचिव