विज्ञप्ति विद्यालयमा बालबालिकालार्इ कुटपिट तथा अमर्यादित व्यवहार गरिएको सम्बन्धमा
विज्ञप्ति
विद्यालयमा बालबालिकालार्इ कुटपिट तथा अमर्यादित व्यवहार गरिएको सम्बन्धमा
केही दिन अगाडिदेखि सामाजिक सञ्जालमा एक जना महिला शिक्षकले कक्षाकोठामा एक जना विद्यार्थीलार्इ लठ्ठीले क्रूरतापूर्वक पिटेको भिडियोका सम्बन्धमा यस परिषद्को गम्भीर ध्यानाकर्षण भएकोछ।घटनाको बारेमा बुझ्दा काठमाडौं जिल्लाको बौद्ध, सिमल्टारमा रहेको खावालुङ्ग विद्यालयमा करीब एक वर्ष अगाडि घटेको घटना हो भन्ने बुझिन आएकोछ। घटना एक वर्ष अगाडि घटेको भए तापनि शिक्षाको मन्दिर जस्तो पवित्र स्थलमा बालबालिकालार्इ क्रूरतापूर्वक लठ्ठीले पिटनु आफैमा अत्यन्तै गम्भीर र दु:खद अवस्था हो। यस घटनाले विद्यालयमा बालमैत्री शिक्षण सिकाइ हुन नसकेको र अझै पनि शिक्षकले विद्यालयमा विद्यार्थीप्रति अमानवीयता, निर्दयता, हृदयहीनता, दुष्टता र निष्ठूरतापूर्वक पठनपाठन गर्ने गराउने गरेको प्रमाणित गर्छ।
बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ६६ को उपदफा (२) को खण्ड (घ) मा बालबालिकालार्इ घर, विद्यालय वा जुनसुकै स्थानमा शारीरिक वा मानसिक दण्ड दिने वा अमर्यादित व्यवहार गर्नेलार्इ कसूर मानी यस्तो कार्य गर्नेलार्इ ऐनकै दफा ७२ को उपदफा (३) को खण्ड (क) बमोजिम पचास हजार रुपैयाँसम्म जरिबाना र एक वर्षसम्म कैद हुने विद्यमान कानूनी व्यवस्था रहेकोमा, यो घटना घटाउने शिक्षकलार्इ कानून बमोजिम कारबाही भयोकि भएन? विद्यालयमा बाल संरक्षण मापदण्ड लागू गरिएको थियोकि थिएन? वा अहिले पनि बाल संरक्षण मापदण्ड निर्माण गरी लागू गरिएको छकि छैन? र प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, स्थानीय तह, न्यायिक समिति, स्थानीय बाल अधिकार समिति र बाल कल्याण अधिकारीलार्इ यस विषयमा जानकारी रह्यो वा रहेन? यदि जानकारी रहेको भए यस्ता बाल अधिकार संरक्षण संयन्त्रले के कस्तो दायित्व र जिम्मेवारी बहन गरे वा गरेन भन्नेजस्ता बाल अधिकार संरक्षण सम्बन्धी कयौं प्रश्नहरु अनुत्तरित रहेको देखिन्छ।
अत: प्रत्येक विद्यालयले बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ५७ बमोजिम बालबालिका विरुद्धको हिंसा वा बाल यौन दुर्व्यवहारको रोकथाम गर्न, बालबालिकाको संरक्षण सुनिश्चित गर्न र उजूरीको तत्काल कारबाही गर्नको लागि संस्थागत रुममा बाल संरक्षण मापदण्ड निर्माण गरी लागू गर्न परिषद् अपील गर्दछ। विद्यालयका लागि नमूना बाल संरक्षण मापदण्ड परिषद्को वेबसाइटमा राखिएको व्यहोरा जानकारी गराउँदै घर, विद्यालय वा जुनसुकै स्थानमा यस्ता घटना घटेमा तुरुन्तै नजिकको प्रहरी कार्यालय वा सम्बन्धित बाल कल्याण अधिकारी तथा बाल हेल्पलाइन सेवा नि:शुल्क फोन नम्बर १०९८(दश,नौ,आठ)मा सम्पर्क/उजूरी गर्न गराउन सम्पूर्ण विद्यालय र सम्बन्धित सबैमा राष्ट्रिय बाल अधिकार परिषद् हार्दिक अनुरोध गर्दछ।
मिति: २०८३/०३/३० रामबहादुर चन्द
नेपाल सम्वत् ११४६ सूचना अधिकारी