भोटेकोशी र त्रिसुली बाढी पीडित तथा प्रभावित बालबालिकालाई अनुमति बिना व्यक्तिगत र संस्थागत संरक्षणका लागि ओसारपसार नगर्ने नगराउने सम्बन्धी
मिति २०८३ साल भदौ १० गते नेपालका रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँ लगायतका जिल्लामा भोटेकोशी तथा त्रिसुली नदीमा आएको विनासकारी बाढीका कारण बाबु आमा वा संरक्षक गुमाएका तथा वेपत्ता भएका वा बालबालिका स्वयम् नै घाइते भएका बालबालिकालाई सम्बन्धित स्थानीय बाल अधिकार समितिको निर्णय र बाल कल्याण अधिकारीको सिफारिसमा स्थानीय तहले बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ४८ को उपदफा (१) खण्ड (ट) बमोजिमका अवस्थाका हकमा परिवारका अन्य सदस्य वा बाबु र आमापट्टीका नातादारको परिवारमा नै राहत, उपचार, मनोविमर्श लगायतका आवश्यक सहयोगको व्यवस्थापन गर्नु हुन एवम् सम्बन्धित स्थानीय तहभित्र त्यस्ता बालबालिकाको संरक्षण तथा व्यवस्थापन उल्लेख गरे अनुरुप हुन नसक्ने भएमा मात्र यस्ता बालबालिकाको अवस्था, नाम र सम्पर्क नम्बर खुलाई यस परिषद्मा सिफारिस प्राप्त भएमा, परिषद्बाट अनुमति प्राप्त तथा सूचीकृत भएका संस्था तथा बाल गृहमा त्यस्ता बालबालिकाको अस्थायी संरक्षण सेवाको प्रबन्ध मिलाइने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ । अतः बाबु आमा दुवै गुमाएका, एकल बाबु वा आमा वा संरक्षक गुमाएका तथा वेपत्ता भएका वा बालबालिका स्वयम् नै घाइते भएका एवम् घर परिवारविहीन भई अस्थायी संरक्षणको आवश्यकता भएका बालबालिकाको सर्वोत्तम हितका लागि कुनै पनि व्यक्ति वा संस्थाले सम्बन्धित स्थानीय तहको स्थानीय बाल अधिकार समितिको निर्णय र बाल कल्याण अधिकारीको सिफारिस एवम् राष्ट्रिय बाल अधिकार परिषद्को सहमति बिना कुनै पनि बालबालिकालाई संस्थागतरुपमा बाल गृह/अस्थायी संरक्षण सेवा केन्द्रमा नराख्न र ओसारपसार नगर्न नगराउन यो सूचना प्रकाशित गरिएको छ । नेपालको संविधानमा व्यवस्था गरिएका मौलिक हक र बालबालिका सम्बन्धी ऐन, २०७५ एवम् नियमावली २०७८ मा व्यवस्था गरिएका अधिकार र बाल संरक्षण सम्बन्धी प्रचलित कानून तथा मापदण्ड विपरीतका कार्य तथा गतिविधि हुन नदिन समेत सम्बन्धित सरोकारवाला सबैमा परिषद् हार्दिक अनुरोध गर्दछ ।
१३ भदौ २०८३
नेपाल सम्वत् ११४६
रामबहादुर चन्द
अधिकृत/सूचना अधिकारी