नेपाल सरकार

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय

राष्ट्रिय बाल अधिकार परिषद्

श्रीमहल, पुल्चोक, ललितपुर

परिषद्को कार्यक्षेत्र

बालबालिकाको अधिकार तथा हक हितको संरक्षण र सम्वर्द्धन गर्ने प्रमुख उद्देश्यका साथ गठित राष्ट्रिय बाल अधिकार परिषद्को प्रमुख कार्यक्षेत्र देहाय बमोजिम रहेको छः-

क.   नीतिगत परामर्शः- राष्ट्रिय बाल अधिकार परिषद्ले बालमैत्री वातावरण विकास गर्नका लागि संघ, प्रदेश र स्थानीय सरकारसँग पैरवी गर्नुको साथसाथै बालमैत्री कानून, नीति, योजना, कार्यक्रमजस्ता विषयमा कार्यान्वयन अभिबृद्धि गर्नका लागि थप प्रयासहरु गर्नुपर्नेछ । साथै, बालबालिका सम्बन्धी विद्यमान नीति, नियमहरुको पुनरावलोकन तथा प्रभाव मुल्याङ्कनका साथै आवश्यकतानुसारको नीति, कार्यविधि, निर्देशिका, मापदण्डको मस्यौदा निर्माणमा सहयोग, सुझाव, सिफारिस जस्ता कार्यमा परिषद्ले विशिष्टीकृत भूमिका निर्वाह गर्नुपर्दछ। यसैगरी बालबालिकासँग प्रत्यक्ष सरोकार राख्ने निकायहरू नेपाल प्रशासनिक प्रतिष्ठान, गरिबी निवारण कोष, राष्ट्रिय युवा परिषद्, राष्ट्रिय खेलकुद परिषद्, नगर विकास कोष, रेडक्रस, नेपाल स्काउट आदिसँग नीतिगत साझेदारी गर्ने।   

ख.    क्षमता विकासः- परिवर्तित संघीय संरचनामा गठित राष्ट्रिय बाल अधिकार परिषद्,  प्रदेश र स्थानीय बाल अधिकार समितिजस्ता नयाँ संरचनालगायत अन्य सरोकारवाला निकायको क्षमता विकास गरी बालबालिकाको विषयमा अझबढी नतिजामूलक ढङ्गबाट कार्य गरी बाल संरक्षण, प्रवर्धन र बाल अधिकार सुनिश्चित गर्नेतर्फ उन्मुख हुन आवश्यक छ।यस क्रममा यस परिषद्ले प्रदेश, स्थानीय तहको बाल अधिकार संयन्त्रको क्षमता विकास तथा सेवा प्रदायक निकाय (नेपाल प्रहरी, स्वास्थ्य, शिक्षा, बाल न्याय) लगायतका क्षेत्रमा आवस्यकता अनुसार क्षमता विकासका अनुशिक्षण, अन्तरक्रिया, तालिमजस्ता कार्यहरु सञ्चालन गरी सम्बन्धित सरोकारवालाहको क्षमता विकास गर्ने ।

ग.     राष्ट्रिय बाल संरक्षण प्रणालीको सञ्चालन, व्यवस्थापन, सवलीकरण र विस्तारः- नेपाल सरकारको बाल संरक्षण सम्बन्धी कार्य गर्ने आधिकारिक निकायको रूपमा परिषद्ले बाल हेल्पलाइन सेवा, बालबालिका खोजतलास सेवाको सञ्चालन, अनाथ सहायता, आर्थिक सहायता तथा सडक बालबालिकाको उद्दार, संरक्षण तथा व्यवस्थापन, अपाङ्गता भएका एवं विशेष संरक्षणको आवस्यकता भएका बालबालिकाको उद्दार र संरक्षण, वैकल्पिक स्याहारको अनुगमन, पृष्ठपोषण, सञ्चालन अनुमति र अनुमति खारेजीका लागि सिफारिस, श्रममा रहेका बालबालिकाको उद्दार र संरक्षण, अस्थायी संरक्षण सेवाको सूचीकरण तथा सहयोग, बाल न्याय प्रणाली सुद्दढीकरणमा सहयोग, बाल सङ्गठन सुद्दढीकरणमा सहयोग, एकीकृत सेवासहितको बालग्रामको प्रवन्धका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने।

घ.      प्रवर्धनात्मक कार्यहरुः- परिषद्ले समग्र बाल अधिकारबारे-बालश्रम, बालविवाह, बेचविखन तथा गैरकानूनी ओसारपसार, यौनशोषण र दूर्व्यवहारलगायत सबै प्रकारका हिंसा, अपाङ्गता, शारीरिक तथा मानसिक यातना, बालगृह, बालबालिकाकालागि उपलब्ध सेवासुविधा, बालबालिकाको हेरविचार, आदिबारे व्यापक रुपमा चेतना जागरणका कार्यहरु गर्नुका साथै बालबालिकाका सरोकारहरु, बालमैत्री शासन, बाल संरक्षण मापदण्ड, बाल सहभागिता मापदण्ड प्रवर्धन गर्ने, बालबालिकाको स्थिति सम्बन्धी राष्ट्रिय प्रतिवेदन प्रकाशन, प्रचार प्रसार गर्ने।

ङ.     समन्वयका कार्यहरुः- बाल अधिकारको सम्वर्धन तथा प्रवर्धनका लागि नागरिक संस्था, अन्तर्राष्ट्रिय संस्था तथा बाल अधिकार परियोजनाहरुको आवश्यकता अनुसार समन्वय गर्ने, बालबालिकाको क्षेत्रमा कार्यरत सरकारी, गैरसरकारी, नीजि र सामाजिम संघसंस्थाहरुसँग समन्वय गर्ने।